
१० औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा
युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ वि.सं. २०६७ सालमा स्थापित यस युनाईटेड क्लव पोखराले यस वर्ष पनि पोखरा महोत्सवको आयोजना गरेको छ ।
यो वर्ष पनि १० औं संस्करणको पोखरा महोत्सव यही पौष २९ माघ १२ गतेसम्म आयोजना हुने भएको छ ।
क्लवले आफ्नो उद्देश्य परिपुर्ती गर्नका लागि स्थापना कालदेखि नै महोत्सवको आयोजना गर्दै आइरहेको छ ।
महोत्सव हुने स्थान अमरसिहं मा.वि. को खेलमैदानमा आज पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रचार प्रसार उपसमितिका संयोजक शान्त बहादुर थापाले देशको कला संस्कृति, भेष–भुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन लगायत भ्रमण वर्ष २०२० लाई सफल बनाउनु महोत्सवका उद्देश्यहरु भएको बताएका छन् ।
संयोजक थापाका अनुसार महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादन, हस्तकलाका सामानहरु एवं सूचना प्रविधिहरुको प्रदर्शनी र बिक्री, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी तथा जानकारी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने भएका छन् ।
उनले महोत्सवमा २५६ वटा स्टल रहने पनि बताएका छन् । १० औं संस्करणको यस पोखरा महोत्सवमा २ लाखदेखि २ लाख ५० हजारसम्म अनुमानित दर्शकहरुको सहभागी रहने पनि संयोजक थापाले जानकारी दिएका छन् ।