
सारङकोटमा आईटी पार्क बनाउने
पोखरा । गण्डकी प्रदेश सरकारले सारङकोटमा आईटी पार्क बनाउने भएको छ । त्यसका लागि जग्गाको पहिचान भइसकेको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटमा आईटी पार्क बनाउने प्रदेश सरकारको योजना छ ।
प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आइटी पार्क बनाउन अर्को विद्यालयमा गाभिएको रत्न आधारभूत विद्यालयको ९६ रोपनी जमिन उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको छ ।
रत्न आधारभूत विद्यालयको १ सय ३५ रोपनी जग्गा छ, जसमध्ये ९६ रोपनीमा पार्क बनाउने योजना छ ।
जग्गा उपलब्ध गराउने माविसम्मको विद्यालय हेर्ने पोखरा महानगरपालिकासँग प्रदेशले सहमति लिइसकेको छ ।
प्रदेश सरकारले आइटी पार्कको गुरुयोजना बनाउन ५० लाख रुपैयाँ र त्यसको आधारभूत तयारी गर्न ५० लाख रुपैयाँ गरी १ करोड बिनियोजन गरेको छ । आइटी क्षेत्रमा बन्ने संरचनाको निक्र्योल, आईटीसँग सम्बन्धित आवश्यक जनशक्ति, डाटा सेन्टर, व्यावसायिक अवस्था लगायतको सम्भाव्यता अध्ययन गरी प्रदेश सरकारले नेपालकै आइटी हब बनाउने योजना अगाडि बढाएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आईटी पार्क निर्माण गर्न बजेटको अभाव नहुने बताउँदै आएका छन् ।