
सरकारले माग सम्बोधन नगरे सबै उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रने !
सरकारले आफ्नो माग सम्बोधन नगरे सबै उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रने नेपाल उद्योग वाणिज्य महासंघले चेताकनी दिएको छ। सरकारले नीति तथा कार्यक्रममार्फत आफ्नो माग र योगदानलाई सम्बोधन नगरेको भन्दै पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष भवानी राणाले अपत्ती जनाएका छन। आगामी आर्थिक वर्षको बजेटमा पनि नसमेटिए सबै व्यवसायी एकजुट भएर आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । ‘हाल सरकारले उद्योग व्यवसायीको माग सम्बोधन नगरेको भन्दै जिल्ला तथा नगरका उद्योगी व्यवसायीबाट व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रने भन्दै एक्येबद्धता आएको छ,’ राणाले भनिन्, ‘अहिले बैंकको ब्याजदर तिर्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ तसर्थ हामी अहिले गर या मरको अवस्थामा छौं ।’महासंघले विशेषगरी बैंक ब्याजदरमा न्यूनतम ५ प्रतिशत घटाउनुपर्ने बताएको छ भने समस्यामा परेका उद्योग व्यवसाय उकास्नका लागि तीन वर्षका लागि १ खर्ब रुपैयाँको पुनर्कर्जा कोष सञ्चालनमा ल्याउनुपर्ने बताएको छ । सो पुनर्कर्जाको ब्याज अघिकतम ३ प्रतिशतभन्दा बढी हुन नहुने माग अघि सारेको छ । साथै घाटामा गएका उद्योगको कर्जालाई पाँच वर्षसम्म वाच लिस्टमा राख्न नहुने बताएको छ ।
हाल बैंक तथा वित्तीय संस्थाले कर्जाको नवीकरण गर्दा नयाँ ऋण लिँदा विभिन्न खालका सेवा शुल्क लिने गरेको भन्दै यसलाई समेत तत्काल खारेज गर्नुपर्ने माग अघि सारेको छ । महासंघले व्यक्तिगत तथा संस्थागत आयकरमा २० प्रतिशत छुट दिनुपर्ने माग अघि सारेको छ भने हालको १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट)लाई १० प्रतिशतमा झार्नुपर्ने बताएको छ । लकडाउनको समयमा पनि सरकारले उद्योगमा बिजुलीको बिल पठाइरहेको भन्दै यस अवधिमा डिमान्ड शुल्क मिनाहा गर्नुपर्ने माग महासंघको छ ।यो समाचार मधुजंग पाण्डेले राजधानि दैनिकमा मा लेखेका छन।