
मनाङ थोरङ्ला पास गर्नका लागी हिडेका चारजना चिनियाँ पर्यटक सम्पर्क विहीन
पोखरा- अन्नपूर्ण पदयात्रा अन्तर्गत थोरङ्ला पास गर्नका लागी हिडेका चारजना चिनियाँ पर्यटक सम्पर्क विहीन भएका छन्।
गत पुस २७ गते थ्रोङ्ला पासका लाग मनाङको निस्याङ गाउँपालिका-९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोस्टमा अनुमति लिएका पर्यटकहरूले आजसम्म थोरङ्ला पार नगरेको तथा सम्पर्कमा नआएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।
हराएका पर्यटकमा दुई महिला र दुई पुरुष छन्। ह्वाङ इहिन (राहदानी नं इजी ११२९६२) र छाथ स्थाउ थिङ(राहदानी नं इओ ५२५६४८०) छन्। दुईजना पुरुषमा मा क्वायन्ली (राहदानी नं इसी ३४६७१०) र एनबड जाड (राहदानी नं इ ६६८७००५) रहेका छन्। अन्नपूर्ण संरक्षण कार्यालयबाट घटनाको बारेमा जानकारी प्राप्त हुने वित्तिकै हुन्दे प्रहरी चौकीबाट प्रहरी टोली खटिइ हराएका पर्यटकको बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
केही दिनदेखि लगातारको वर्षा तथा हिमपातका कारण पदयात्रामा जाने पर्यटकले सास्ती पाउँदै आएका छन्।
विश्व चर्चित अन्नपूर्ण पदयात्राको क्रममा मनाङबाट थोरङ्ला पार गरेर पर्यटक मुस्ताङ हुँदै पोखरा भित्रिने गरेका छन्।