
भुजुङ गाउँमा पर्यटन महोत्सव लाग्ने
पोखरा-समुद्री सतहवाट १ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित देशभरका ठूला गाउँमध्येको एक लमजुङको क्हाेँलासाेथर गाउँपालिका ४, भुजुङ गाउँमा पर्यटन महोत्सव लाग्ने भएको छ।भुजुङ गाउँका स्थानियहरू गाउँको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन गर्न पर्यटन महोत्सव मनाउने तयारीमा पनि जुटिसकेका छन् ।२०६४ सालमा प्रथम भुजुङ महोत्सवको आयोजना गरी पर्यटन प्रवद्र्धन थालेका स्थानीयले यसबर्ष पर्यटन महोत्सव मनाउने भएका हुन् । गाउँको पर्यटन प्रवद्र्धन गर्न र पर्यटन भ्रमण बर्ष २०२० लाई सफल बनाउन असोज १३, १४ र १५ गते महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।‘भुजुङ पर्यटन महोत्सवमा सहभागि बनौंं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौं’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको भुजुङ पर्यटन महोत्सव मुल आयोजक समितिका संयोजक तुलबहादुर गुरुङले बताउनुभयो । महोत्सव मार्फत भुजुङ गाउँको होमस्टे पर्यटन विकास गरिने, ग्रामीण पर्यटनको अवधारणालाई मुर्तरुप दिई स्थानीय जनताको आयआर्जनमा वृद्धि गराउने लक्ष्य लिइएको संयोजक गुरुङले बताए ।महोत्सव मार्फत राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा भुजुङ गाउँको प्रचारप्रसार गरि पर्यटनको प्रवद्र्धन गरिने, गुरुङ संस्कार, कला संस्कृति र परम्परालाई संरक्षण एवं सम्बद्र्धन गरिने, आर्थिक संकलन गरि भुजुङ गाउँमा पर्यटन प्रबद्र्धनको लागि पूर्वाधार विकास गर्ने भएको छ ।
महोत्सवमा पहिलो दिन असोज १३ गते उद्घाटन तथा सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय हस्तकलाका सामाग्रीहरु प्रदर्शनी, स्थानीय स्तरमा उत्पादित कृषि प्रदर्शनी, स्थानीय एवं राष्ट्रिय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुती रहनेछ । दोस्रो दिन असोज १४ गते ख्याति प्राप्त राष्ट्रिय कलाकारद्धारा दोहोरी तथा लोक गीत प्रस्तुति, सांस्कृतिक कार्यक्रम प्रस्तुति, तेस्रो दिन असोज १५ गते अतिथिहरुलाई सम्मान गर्दै मायांको चिनो प्रदानगर्ने कार्यक्रम छ । गाउँमा ९० प्रतिशत गुरुङ र वाँकी दलित समुदायको वसोवास रहेको छ । नेपालकै ठुलो गुरुङ गाउँमध्ये एक मानिने भुजुङका घरहरु एकै ठाउँमा गुचुमुचु भएर बसेको छ ।