
अनलाइनमा यसरी गर्नुहोस् सेयर कारोबार
दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या १३ लाख ५८ हजार ७२७ जना पुगेको छन् । ब्रोकर कार्यालयमा खाता खोलेर लगानी गर्नेहरुको संख्या नेप्सेले सार्वजनिक गरेको हो । यसमध्ये अहिलेसम्म १६ हजार ५७३ जनाले मात्रै अनलाइन प्रणालीमार्फत सेयर कारोबार गरेका छन् । यसआधारमा प्रविधि प्रयोग गर्नेको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ । बाँकी लगानीकर्ताले ब्रोकर कार्यालयमा नै गएर सेयर खरिद गर्दै आएका छन् । यस्ता लगानीकर्ताको संख्या १३ लाख ४२ हजार १५४ जना रहेको छ ।
सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता भिजन सेक्युरिटिज (३४ नम्बर) मा रहेका छन् । भिजनबाट १ हजार ५३३ जनाले अनलाइन कारोबार गरेका छन् । यता, अनलाइन र अफलाइन गरी सबैभन्दा धेरै लगानीकर्ता एबीसी सेक्युरिटिजमा रहेका छन् । यसमा ६६ हजार ३६ जनाले सेयर खरिद बिक्री गर्ने गरेको नेप्सेले जनाएको छ ।नेपाली सेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्दै नेप्सेले २०७५ कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको थियो ।
अनलाइन प्रणाली सञ्चालनमा आएको १४ महिना वितिसक्दा पनि यसप्रति लगानीकर्ताको खासै आकर्षण देखिएको छैन । कतिपय लगानीकर्ताले अनलाइन प्रणालीमा आवद्ध भए पनि राम्रोसँग सञ्चालन गर्न नजान्दा कारोबारमा ब्रोकरकै भर पर्नुपर्ने अवस्था छ ।
कसरी गर्ने अनलाइनबाट कारोबार ?
अनलाइनबाट सेयर कारोबार गर्नका लागि लगानीकर्ताले ब्रोकर कार्यालयमा गई सबैभन्दा पहिले ‘केवाइसी अपडेट’ गराउनुपर्नेछ । केवाइसी अपडेट नभएसम्म लगानीकर्ता अनलाइन कारोबारमा जोडिन पाउने छैनन् । जसमा अनलाइन खाता रोजेकाले अनलाइनबाट आवेदन दिन सक्नेछन् । त्यसपछि ब्रोकर कम्पनीले केवाइसी रुजु गरी टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा समाविष्ट गर्नेछन् भने लगानीकर्ताले ब्रोकर कम्पनीबाट ‘ट्रेडिङ यूआरएल एड्रेस’ प्राप्त गर्छन् ।
उक्त यूआरएल खोलेर ‘फरगेट पासवर्ड’ मा क्लिक गर्नुपर्नेछ । उक्त विन्डोमा आफ्नो युजर नेम र इमेल प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि इमेलमा पासवर्ड परिवर्तन गर्ने लिंक उपलव्ध हुनेछ । इमेलमा प्राप्त लिंकमा गई पासवर्ड परिवर्तन गर्नुपर्नेछ । अब ट्रेडिङ यूआरएलमा गई आफ्नो यूजर नेम र पासवर्ड प्रयोग गरी टिएमएस ‘सबमिट’ गरी सिस्टम लगिन गर्न सकिन्छ ।
लगिनका क्रममा ओटीपी (वन टाइम पासवर्ड) लगानीकर्ताले इमेलमा प्राप्त गर्न सक्नेछन् । सो ‘ओटीपी’ स्क्रिनमा राखी लगिन गर्नुपर्नेछ । अर्डर पोष्ट गर्नका लागि बायाँ साइडमा रहेको अर्डर म्यानेजमेन्टमा गई नर्मल अर्डरमा क्लिक गर्नुपर्छ । त्यसपछि अर्डर इन्ट्रीको स्कृन खुल्नेछ । सेयर खरिद गर्नेले ‘बाइ’ बेच्नेले ‘सेल’ अप्सन छान्नुपर्दछ ।
नेपाली पैसाबाट साभार
हेर्नुहोस् कुन ब्रोकर कम्पनीबाट कति छन् अनलाइन र अफलाइनमा सेयर कारोबार गर्नेहरु