
पोखरामा बुधबार आयोजना भएको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधि नेपालले जिते
पोखरा -पोखरामा बुधबार आयोजना भएको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालको तर्फबाट प्रतिनिधित्व गरेको सशस्त्र प्रहरी बलको एपिएफले सहभागी २६ टिमलाई पछि पार्दै उपाधि हात पार्न सफल भएको हो ।
एपिएफका गणेश ठकुरी, सन्तोष विक्रम विष्ट र इन्द्रकला नेम्वाङको टोलीले निर्धारित दुरी ४२।२ किलोमिटरको दौड ४ घण्टा १७ मिनेट २२ सेकेण्डमा पार गरी मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १।२ किलोमिटर बोटिङको दुरी ४ घण्टा १८ मिनेट २३ सेकेण्डमा पार गरी गुरीला टिम दोश्रो भएको छ । उक्त टिममा एभरेष्ट म्याराथनका विजेता दुर्गाराज बुढामगर, भेट्रान्स खेलाडी दामोदर बुढामगर र हङकङमा सामुहिक एक सय किलोमिटर दौडमा दोश्रो भएकी रसिला तामाङ रहेकी थिइन् ।
प्रतियोगितामा चीनको द के टिम तेश्रो भएको छ । टिममा सहभागि च्याङ इझेन, पाङ उइझु र लाइयु झुनले निर्धारित दुरी ४ घण्टा, २४ मिनेट ३३ सेकेण्डमा पार गरी तेश्रो भएका हुन्। प्रतियोगितामा अन्नपूर्ण टिम चौथो भएको छ । जिवन लामा, सौरव राई र प्रतिभा श्रेष्ठको टोली नेपाली तर्फ तेश्रो हुन सफल भएका हुन्। त्यसै गरी प्रतियोगितामा पाँचौं पोखरा एफ भएको छ । पोखराबाट सहभागी उक्त टिममा खुसिमान खत्री, सुधा राई र सुवास लामा रहेका थिए ।
त्यसै गरी प्रतियोगितामा ३९ किलोमिरको दौडमा चिनियाँ टोलीले उपाधि जितेको छ । निर्धारित दुरी ३ घण्टा ३९ मिनेट २७ सेकेण्डमा पार गर्दै झाङ जिले उपाधि जितेका हुन्। त्यसै गरी चिनियाँ धावक चाङ फ्यान फे दोश्रो र झाओ झुवाङ वाङ तेश्रो भए । चाङ फ्यानले निर्धारित दुरी ३ घण्टा ५० मिनेट १२ सेकेण्डमा पार गर्दा झुवाङ वाङ ले निर्धारित दुरी ४ घण्टा १ मिनेट १२ सेकेण्डमा पार गरेका हुन्।
प्रतियोगितामा २७ टिम सहित एक सय ७ जना खेलाडीहरु सहभागि भएको प्रतियोगिताका निर्देशक यम बहादुर गुरुङले बताए । नेपाली विजेता तीन टिमलाई चाइनामा डिसेम्बर ३१ देखि जनवरी एक तारिखसम्म हुने ज्याओजी माउण्टेन क्रस कन्ट्री रेसमा सहभागि गराउने भएको कार्यक्रम संयोजक विश्वशंकर पालिखेले बताए ।