
पोखरामा एशियन प्याराग्लाइडिङ वर्ल्ड टुर हुने,३० भन्दा वढी देशका १२५ जना खेलाडी आउने
केशव पाठक पोखरा – , एशियन प्याराग्लाइडिङ वर्ल्ड टुर पोखरामा हुने भएको छ । प्याराग्लाइडिङहरुको अन्तर्राष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफ.ए.आई)ले आगामी फागुन ११ देखि १७ गते सम्म प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ पोखरामा आयोजना गर्नका लागि मान्यता दिएको हो ।
एशियन अन्तरगत एफएआईले एशियन प्याराग्लाइडिङ वल्र्ड कप एशोसियसनको मातहातमा रहि सन २०२० का लागि नेपाल, चिन र इण्डोनेशियामा गरि तिन वटा टुरहरु आयोजना हुनेछन । यो प्रतियोगिताको मुख्य उद्धेश्य एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश दिनका लागि गरिएको एफएआईका लागि नेपालका प्रतिनिधी विमल अधिकारीले बताए ।
प्याराग्लाइडिङको सूपर फाइनलमा एशियाका खेलाडीको कम सहभागिता रहेकोले एशियन खेलाडीको क्षमता बढाउँदै विश्व कपको सूपर फाइनलको यात्रा तय गराउन एफएआइले यस्तो कार्यक्रम ल्याएको अधिकारीले बताए । नेपाल, चिन र इण्डोनेशियाका बिजेताहरुले विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश पाउनेछन । प्रतियोगितामा यूरोपियन खलाडीहरु समेतको सहभागिता हुनेछ ।
पोखरामा हुने एशियन टुर अन्तरगतको पहिलो प्रतिष्पर्धा रहेकोले पनि ३० भन्दा वढी देशका १२५ जना खेलाडी पोखरा आउनेछन । हाल सम्म १५ देशका ७० जना खेलाडीले आफ्नो नाम दर्ता गरिसकेको अधिकारीले जानकारी दिए । नेपाल हवाई खेलकुद संस्था (ना), नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) र पाइलट क्लबलाई नेपालका लागि आयोजक तोकिएको छ । ना ले यसै संग जोडेर ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ समेत आयोजना गर्नेछ । नेपाल एक्रोटिमले स्वयंसेवीको भूमिका खेल्नेछ ।
नेपाल भ्रमण वर्ष २०२० लाई समेत जोडेर आयोजना हुने यस कार्यक्रमले नेपालको शाहसिक खेल प्याराग्लाइडिङ मार्फत पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउँछन नेफाका महासचिब शैलेन्द्र राउत । करिब करिव ८० लाख खर्च लाग्ने यो कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डले १५ लाख सहयोग गर्ने भएको छ । ‘यो प्रतियोगिता पर्यटन संगै खेलाडीको समेत प्रवर्धनमा सहयोग पुग्छ’ भन्छन ना का अध्यक्ष कृष्ण भण्डारी ‘यो प्रतियोगिताको विशेषतानै फरक भएकोले नेपाली खेलाडीले समेत सूपर फाइनलको यात्रा तय गर्ने बाटो खुलेको छ ।’
‘वर्ल्डकप क्याटोगरीको टुर हो’– योगेश भट्टराई
यता एशियन टुर पोखराका संयोजक एवम ना का निवर्तमान अध्यक्ष समेत रहेका योगेश भट्टराईले पोखरामा आयोजना हुने एशियन टुर वर्ल्ड कप क्याटोगरी २ अन्तरगतको रहेको बताए । सूपर फाइनलमा पुग्न विश्वमा ५ वटा टुर हुने गरेको बताउँदै उनले भने–‘हामीले यसैलाई मध्यनजर गर्दै गत वर्ष एशियाली मूलका खेलाडीलाई सूपर फाइनलमा पुर्रयाउन यो सल्लाह गरेका थियौं जुन पुरा हुँदैछ ।’ अव एशियामा हुने तिन वटा टुर बाट ‘वेष्ट फाइभ’ खेलाडीले सोझै सूपर फाइनलको यात्रा तय गर्नेछन ।
एशियन टुर आयोजना गर्नका लागि एफएआईका उच्च स्तरिय प्रतिनिधीहरु र सम्पूर्ण निर्णायकहरु समेत उतै बाट आउने भएपछि यसले नयाँरुप पाउने पक्का भएको भट्टराईले बताए । ‘पोखराका लागि नयाँ मार्ग प्रशस्त भएकोछ यदि हामीले यो प्रतियोगितालाई भब्य बनाउन सक्यौ भने आगामी वर्ल्डकप पोखरामा नहोला भन्न सकिन्न’ उनले भने–‘कुनै समय वर्ल्ड कपको सूपर फाइनल पोखरामा भयो भने त्यसको प्रभाव महत्वपूर्ण हुनेछ ।’
एशियन टुर वर्ल्ड कपका लागि पोखरामा धेरै सावधानीका कुराहरु अपनाउनुपर्ने भएको निर्वर्तमान अध्यक्ष भट्टराईले बताए । क्याटोगरि लेभल २ अन्तरगत हुने प्रतियोगिता लाई शुरक्षा लगाएत अन्य दृष्टीकोणले समेत उत्तिकै महत्वपूर्ण रहने भएकोले नेपाली सेनाले उद्धार र खोजीको जिम्मा लिएको छ । त्यसै गरि प्रतियोगिता अवधीभर उडान क्षेत्रमा कुनै जहाज वा हेलीकप्टर नउडोस भन्नका लागि ‘नोटाम’ समेत जारी गर्न सम्वन्धित निकायमा पत्राचार समेत भइसकेको उनले बताए ।