
पिँजडामा माछापालन गर्ने प्रविधि कास्कीमा निकै लोकप्रिय हुँदै
पिँजडामा माछापालन गर्ने प्रविधि कास्कीमा निकै लोकप्रिय हुँदै गएको छ । प्रविधि निकै सजिलो र यसबाट आर्थिक लाभ पनि राम्रै हुने भएपछि अहिले फेवा र बेगनास ताल वरिपरिका तीन सयभन्दा बढी किसानहरूले पिँजडामा माछा पालन गरिरहेका छन् ।
पिँजडामा गरिएको माछापालनाबाट फेवातालबाट बर्सेनि एक सय मेट्रिकटन र बेगनास तालबाट ५० मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । यी तालहरूमा निजी स्तरबाट किसानहरूले मात्र होइन, सरकारले पनि माछापालन गर्दै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको मत्स्य अनुसन्धान केन्द्रले फेवा तालमा ५० वर्गमिटरका करिब एक सयवटा पिँजडा निर्माण गरेको छ र त्यहाँ माछाका भुरा उत्पादन गर्दै आएको छ ।
पोखरा उपत्यकाका तालहरूमा सन् १९७२ देखि यसरी माछापालन सुरु गरिएको भए पनि कुलेखानी जलविद्युत् योजनाको तालबाहेक अन्य खासै यो प्रविधि विस्तार हुन सकेको छैन । अझ सम्बन्धित निकायको सुस्तताका कारण यसले व्यावहारिक रूप प्राप्त गर्न सकेको छैन ।
केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत रामकुमार श्रेष्ठका अनुसार पिँजडामा पालिएका माछा एक वर्षसम्ममा सरदर आधा केजीदेखि एक केजी तौलसम्मका हुन्छन् । उत्पादनशीलता बढी भए ५० घनमिटर भएको एउटा पिँजडामा करिब दुईदेखि तीन सय केजीसम्म माछा प्रतिवर्षका दरले उत्पादन हुन्छ । ताल, तलाउ, कृत्रिम जलाशय, सुस्त गतिले बग्ने खोलाको छेउछाउ, पोखरी, कुण्ड आदिमा जालीको संरचना बनाएर माछा पालन गर्ने प्रविधिलाई ‘पिँजडामा माछापालन’ को नामले चिनिन्छ । यो प्रविधि निकै सस्तो र सजिलो छ ।