
तनहुँमा विदेशबाट फर्किएका २९७ जनालाई होम क्वारेन्टाइनमा
तनहुँ – तनहुँमा दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २९७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । कोभिड–१९ को जोखिम नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार ती व्यक्तिहरु सुरक्षितरूपमा घरमा नै बसिरहेका छन् । जिल्लाका प्रत्येक वडामा पुगेर जनप्रतिनिधिले विदेशबाट आउनेको विवरण सङ्कलन गरिरहेका छन् ।
नजिकका स्वास्थ्य संस्थामा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य पाइएपछि होम क्वारेन्टाइनमा राखिएको अधिकारीले जानकारी दिए । ‘कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेको छैन, तैपनि विदेशबाट आएको हुनाले सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ,’ अधिकारीले भने ।
जिल्लाका ३४ स्थानमा क्वारेन्टाइन बनाइएको छ तर ती क्वारेन्टाइनमा भने अहिलेसम्म कसैलाई पनि राखिएको छैन । त्यस्तै व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
भीमाद नगरपालिकामा विदेशबाट फर्किएका ९८ जना होम क्वारेन्टाइनमा बसेका छन् । ती व्यक्ति विभिन्न १३ देशबाट दुई साताको अवधिमा घर फर्किएको खुल्न आएको छ । यस्तै कोरोना सङ्क्रमित १९ वर्षीय युवती सवार कतार एयरवेजमा तनहुँका एक यात्रु भएकोे पुष्टि भएको छ । उक्त उडानमा तनहुँको भीमाद घर भई पोखरा बस्ने गुरुङ थरका एक व्यक्ति रहेको पुष्टि भएको र उनी हाल पोखरामा क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।