
डेरी उद्योगमा आगलागि हुँदा ७० लाख माथिको क्षति
इलाम- इलामको देउमाई नगरपालिका–४ स्थित मंगलबारे बजार नजिकै रहेको गजुरमुखी डेरी उद्योगमा आगलागि हुँदा ७० लाख माथिको क्षति भएको छ । मंगलबारे बजारको तल्लो बुधबारेमा रहेको डेरी उद्योगमा शनिबार दिउँसो आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट दूध पेल्ने मेसिन, घिउ, छुर्पीलगायतका सामान जलेर नष्ट हुँदा ७० लाख माथिको क्षति भएको देउमाई नगरपालिका ४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिए । आगलागि दिउँसो ३ बजेबाट आगलागी सुरु भएको थियो ।
स्थानीय अशेष बुढाथोकीले सञ्चालन गरेको डेरी उद्योगमा आगलागी भएको हो । आगलागी अपराहन्न साढे चारबजे नियन्त्रणमा आएको थियो । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताए । देउमाई नगरपालिकामा दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो ।
उद्योगमा रहेका सवै सामान जलेर नष्ट भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । साथै प्रारम्भिक चरणको अनुमानबाट सो क्षति भएको बताइए पनि उद्योगका प्रोप्राइटर जिल्ला बाहिर रहेकाले एकिन विवरण आउन बाँकी रहेको छ ।
स्थानीय तहमा दमकल नहुँदा समस्या
स्थानीय तहले दमकल खरिदमा बास्ता गरिरहेका छैनन् । यसले पनि समस्या हुने गरेको स्थानीय प्रकाश खनालको भनाइ छ । स्थानीय तहले दमकल खरिद गर्नुपर्ने खनालको माग छ । टाढाको दमकल लैजानुभन्दा नजिकै दमकल भइदिएको भए क्षति कम हुन सक्ने उनको भनाइ छ । जिल्लाका सूर्योदय नगरपालिका र इलाम नगरपालिकामा मात्र दमकल छ । अन्य दुइटा माई र देउमाई नगरपालिकाले अझै दमकल खरिद गरेका छैनन् । अन्य ६ वटा गाउँपालिकामा कुनैमा पनि दमकल छैन ।
गाउँपालिकाको केन्द्रमा नै दमकल जानसक्ने अवस्था नरहेकाले पनि दमकल खरिदतर्फ चासो नबढेको केही गाउँपालिकाका प्रमुखहरूले बताउने गरेका छन् । तर, अत्यावश्यक रहेको दमकल खरिद गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् । अब अझ हिउँदको दिन साथै हावाहुरी चल्ने समय आएकाले आगोबाट बच्नका लागि र सामानको सुरक्षाका लागि पनि जनचेतना फैल्याउन आवश्यक रहेको छ ।