
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटे, निर्यात व्यापार उल्लेख्य बढे
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार दुई महिना (साउन–भदौ) मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । तथ्यांक अनुसार चालु आवको दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले बढी हो । उक्त आवको दुई महिनामा १४ अर्ब ६९ करोड ९० लाख रुपैया बराबरको वस्तु निर्यात भएको तथ्यांक रहेको छ ।
This Page Total Views:
783