
कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा
चितवन – देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ । मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख छ ।
निर्णय कार्यान्वयन गराउन उत्पादन शुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा सङ्घले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको सो अवसरमा जानकारी दिइएको थियो । सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य रु ५५ का दरले रु ३३ करोडभन्दा बढी नोक्सान हुने बताए । पोख्रेलले व्यवसायीले गएको फागुन यता प्रतिचल्ला रु २५ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी दिए।
महनगर् अद्देम्पिरे अद्स्मिद्तोव्न् किनेम
नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आबश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । उनले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए। यसबाट एक लाख हाराहारी प्यारेन्ट घट्ने उनको भनाइ छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।
ह्याचरी उद्योग सङ्घका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले उद्योग र उपभोक्ता मर्कामा परेको बताए । हाल कृषककोबाट जिउँदो कुखुरा रु १२० देखि १३० प्रतिकिलोमा उठेको भए पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य रु २६० हाराहारी रहेको छ । भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेका हुन् । दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो रु ५० देखि ५५ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना रु ६० देखि ६५ पर्दछ । लामिछानेले लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय सङ्कटमा परेको बताए।
नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २० अर्ब लगानी रहेको भन्दै लामिछानेले लगानीको आधा हिस्सा बैंकको भएको बताए। सरकारले समयमानै सम्बोधन गर्न नसके यो व्यवसाय धारासाही हुने उनको भनाइ छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल सरकारले विगतका वर्षहरुमा विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नलिने गरेकोमा आर्थिक वर्ष २०७६०७७ देखि भन्सार लिने गरेका कारण दानाको मूल्य वृद्धि भएको बताए। उत्पादन लागत दिन प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेका कारण कुखुराजन्य क्षेत्रमा नकारात्मक प्रभाव परेको विष्टको भनाइ छ ।
उहाँका अनुसार कुखुराजन्य उत्पादनका सबै क्षेत्र पछिल्ला वर्षहरुमा लागत मूल्य धान्न नसक्दा सङ्कटमा परेका छन् । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा रहेको छ । पछिल्ला वर्षमा कुखुरापालनको विस्तार देशैभरि भएको छ । यसबाट झण्डै दुई लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क रहेको छ । (रासस)